श्रीलंकामा जेल परेका २५ महिला कामदारको उद्धार

श्रीलंकामा जेल परेका २५ महिला कामदारको उद्धार

नेपालबाट वैधानिकरुपमा घरेलु कामदार जान नपाएपछि दलालको फन्दामा परी श्रीलंका हुँदै खाडी मुलुक जाने क्रममा पक्राउ परेका २५ नेपाली महिलाको उद्धार गरिएको छ । श्रीलंकाको अध्यागमनले मानव तस्करलाई पक्राउ गरेपछि उनीहरुसँगै मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार नेपाल फर्काइएको थियो ।

 महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई उद्धार गरी माइती नेपालको सेल्टरमा राखिएको बताएको छ । स्वदेश फिर्ता गर्नुपर्ने मध्ये एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले उपचार भएपछि स्वदेश फर्काइने मन्त्रालयले जनाएको छ । उनीहरुलाई स्वदेश फर्किने जहाज टिकट तथा व्यवस्थापन खर्च सरकारले व्यहोरेको मन्त्रालयले बताएको छ । खाडीका विभिन्न देशमा नेपाली महिलाहरुलाई घरेलु कामदारको रुपमा जान रोक लगाएपछि मानव तस्करहरुले श्रीलंका र म्यानमार हुँदै ती मुलुक पठाउने गरेका छन् । सोही क्रममा नेपाली महिलाहरु पक्राउ परेका हुन् । 

तीन वर्षअघि अवैधरुपमा भारतको मणिपुर हुँदै म्यानमार लगिएका १ सय ७९ नेपाली महिलाहरुको उद्धार गरिएको थियो । उनीहरुमध्ये अधिकांश स्वदेशमा रोजगारको अवसर नपाएका पारिवारिक बेमेल र अपहेलानामा परी आर्थिक समस्यामा परेका महिला रहेको बताइएको छ । पत्रकार सम्मेलनमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले खुला सिमानाका कारण मानव बेचविखन भइरहेको भन्दै आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गर्ने बताए । 

 महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले शिक्षा तथा चेतनाको अभाव, गरिबी र रोजगारी आदि कारणले नेपाली महिलाहरु रोजगारीका लागि अवैध बाटो हुँदै विदेश पुगेर अलपत्र पर्ने गरेको पाइएको बताइन् । यस वर्षमा मात्रै खाडीका विभिन्न मुलुक र भारतबाट अलपत्र अवस्थामा रहका १ हजार १ सय बढी महिला तथा बालबालिकालाई उद्धार गरिएको मन्त्रालयले बताएको छ ।

ad on news side